‘कसैले पनि यसरी ज्यान गुमाउन नपरोस्’

१४ जेठ, पोखरा । २५ वर्षीया गर्भवती श्रीमतीलाई कोभिड देखिएपछि तनहुँ भानुका ३४ वर्षीय युवकले घरमै रेखदेख गरिरह

१४ जेठ, पोखरा । २५ वर्षीया गर्भवती श्रीमतीलाई कोभिड देखिएपछि तनहुँ भानुका ३४ वर्षीय युवकले घरमै रेखदेख गरिरहेका थिए ।

शुक्रबार राति पेट दुखेपछि एक बजेतिर पश्चिमाञ्चल अस्पतालमा ल्याए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा उपचार शुरु भयो । चिकित्सककाे सल्लाहअनुसार अपरेसन गरेर बच्चा निकालियो । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुँदै थियो ।

अब त घर जाउँला भनेको बेला बिहीबार राति नसोचेको घटना भयो । एक्कासी अक्सिजन सकिएपछि आफ्नै आँखा अगाडि श्रीमतीलाई गुमाउनु परेको उनले सुनाए । ‘मैले डाक्टर र नर्सको ढोका ढक्ढक्याउँदै हिंडे । अक्सिजन नआएपछि हामीले के गर्न सकिन्छ र भनेर तर्किए’ उनले भक्कानिंदै भने, ‘अक्सिजन आउला र उनको ज्यान बच्ला भन्ने लागेको थियो । तर अस्पतालमा अक्सिजनको अभाव लेखेर टाँसेर डाक्टर हिंडे ।’

शुक्रबार नेपाली सेनाको टोलीले शव व्यवस्थापनको तयारी गरिरहँदा उनी अक्सिजन जुटाउन नसकेकोमा चुक्चुकाइरहेका थिए ।

अक्सिजन सकिन लागेको थाहा पाएपछि उनका भाञ्जा अक्सिजन जुटाउन हारगुहार गर्दै पोखरा अक्सिजन उद्योगमै पुगेका थिए, तर पाएनन् । ‘कतैबाट एक सिलिन्डर अक्सिजन जुटाउन पाएको भए बाँच्ने थिइन् कि ?’ सिमसिम पानी छल्न अस्पताल परिसरमै ओत लागेर बसिरहेका उनले भने, ‘कसलै पनि यसरी ज्यान गुमाउन नपरोस् ।’

बिहीबारको यो घटनामा २५ वर्षीया गर्भवतीसहित ८ जनाले मृत्युवरण गर्नुपरेको छ । प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट नुहँदा यो अवस्था आएको चिकित्सकहरु बताउँछन् ।

अक्सिजन अभावले धेरैको ज्यान गएको सार्वजनिक भएपछि अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बराल निकै दबाबमा देखिए । ‘फोन बजेको बज्यै छ, कहिले माथिबाट भन्छन् कहिले प्रदेश सरकारबाट । कहिले सिडिओ सा’बको फोन आउँछ’ डा. बरालले भने, ‘भर्खरै अस्पताल प्रशासनलाई बिफ्रिङ गरें । मिडियाकर्मीले सोधिरहेका छन् ।’

उनका अनुसार अस्पतालमा पछिल्लो समय हाइ–फ्लो अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढ्दै गएको थियो । तीन दिनदेखि अक्सिजन आपूर्तिमा भने समस्या हुन थालेको थियो । व्यवस्थापनका लागि प्रयास गर्दागर्दै बिहीबार समयमै अक्सिजन आपूर्ति नहुँदा मानवीय क्षति बेहोर्नुपरेको डा. बरालले बताए । ‘चिकित्सक र स्वास्थ्यकर्मीले हरसम्भव प्रयास गरेकै छन्, तर पनि गम्भीर बिरामीको ज्यान गयो,’ उनले भने ।

प्रतिष्ठानमा अहिले ८५ जना कोभिडका बिरामीको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्र यहाँ १० जनाले ज्यान गुमाएका छन् । अन्य बिरामीको पनि उपचार हुने प्रतिष्ठानमा कोभिडका बिरामीको उपचारमा निकै सकसपूर्ण बनेको चिकित्सक बताउँछन् ।

वैशाख १४ गतेबाट कोभिड उपचार शुरु भएको अस्पतालमा ४० भन्दा बढीको मृत्यु भइसकेको छ । ४० बेडबाट सेवा शुरु गरेको यो अस्पतालमा कोभिड बेड २०० पुर्‍याउने लक्ष्य राखिएको छ । तर फोकल पर्सन बराल भन्छन्, ‘निजी अक्सिजनको भरमा अब कोभिड बेड थप्न सकिन्न । हतियार विनाको सिपाही के काम ?’

पोखरा औद्योगिक क्षेत्रमा दुई अक्सिजन उद्योग छन्, पोखरा र कालीगण्डकी अक्सिजन उद्योग । पोखरा अक्सिजनले दैनिक ८०० र कालीगण्डकीले ५०० गरी १३ सय सिलिन्डर उत्पादन हुने कास्कीका सिडिओ थानेश्वर गौतमले जानकारी दिए ।

जबकि पोखरामा मात्र कोभिडका उपचार गर्ने १९ वटा अस्पताल छन् । मणिपाल शिक्षण, चरक मेमोरियल, गण्डकी मेडिकल कलेज, फिस्टेल, मेडिप्लस लगायतले कोरोनाको उपचार गर्दै आएका छन् । पछिल्लो समय माग र आपूर्तिको अन्तर देखिन थालेको छ ।

पोखरा अक्सिजन उद्योगका सञ्चालक लालकृष्ण शर्मा भट्टराईले सबै अस्पताललाई मागका आधारमा दिने गरिएको र पहिलो प्राथमिकतामा पोखरा स्वास्थ्य विज्ञान नै पर्ने बताए ।

‘एक घण्टामा ३५ सिलिण्डर अक्सिजन उत्पादन हुन्छ, त्यसमध्ये १९ वटा पोखरा स्वास्थ्य विज्ञानलाई छुट्याएर बाँकी अरुलाई बाँड्ने हो’ भट्टराईले भने, ‘बिहीबार आधा घन्टा जति विद्युतका कारण उत्पादन रोकिएको थियो, नभए नियमित उत्पादन छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड महामारी शुरु हुनुभन्दा पहिल्यै अक्सिजन प्लान्ट बन्नुपर्ने हो । बजेटको छुट्याइएको पनि भएको थियो, तर कार्यान्वयन हुन सकेन । अस्पतालका पूर्वउपकुलपति, डीन र केही चिकित्सक समेत लगानीकर्ता भएर पोखरा अक्सिजन उद्योग खुलेको थियो । प्रतिष्ठानले त्यहींबाट अक्सिजन पाएको थियो ।

तर अहिले उद्योगले अक्सिजन आपूर्ति गर्न नसक्दा ज्यानै जाने अवस्था आएको प्रतिष्ठानकै चिकित्सक बताउँछन् ।

पछिल्लो पटक शहरी विकास तथा भवन निर्माण विभागमार्फत अस्पतालको रेट्रो फिटिङसँगै प्लान्ट निर्माणको योजना बनेको छ । त्यसका लागि ५४ करोड रुपैयाँ विनियोजन भएको छ । २९ असार २०७७ मा अस्पतालको रेट्रोफिटिङ र अक्सिजन प्लान्ट राख्न निर्माण कम्पनी बिकोई, रौताहा र पिके जेभीसँग सम्झौता भएको थियो ।

प्लान्ट बनेमा २०० सिलिण्डरसम्म अक्सिजन दैनिक उत्पादन हुनसक्छ । तर भवन रेक्ट्रोफिटिङ सकेरमात्र प्लान्ट बनाउने सहमति भएको संघीय योजना कार्यान्वयन इकाइ कास्की प्रमुख झपट थापाले बताए । अहिले प्लान्ट निर्माण शुरुमै गर्न आग्रह गरिएको छ ।

तर बिकोई, रौताहा र पिके जेभीका निर्देशक धर्मराज दाहालले कहिले बन्छ भन्ने यकिनका साथ भन्न नसकिने बताए । ‘सबै उपकरण बाहिरबाट ल्याउनुपर्छ । ४/५ वटा सप्लायर्स कम्पनीसँग कोटेसन मागिएको छ’ दाहालले भने, ‘कम्तीमा ५/६ महीना लाग्न सक्छ ।’

बतास फाउन्डेसनले पैसा उठायो, तर ….

व्यावसायिक घराना बतास ब्रदर्शको बतास फाउण्डेसनले अक्सिजन प्लान्ट राख्न अर्थ संकलन गरिरहेको छ । शुरुमा महीना दिनभित्रै निर्माण गरिसक्ने योजनासहित व्यवसायी आनन्दराज बतासले २५ लाख रुपैयाँ राखेर आर्थिक संकलन शुरु भएको थियो । दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट बनाउन ५ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको भए पनि ३ करोड ५० लाख भए पुग्ने देखिएको छ ।

‘अभियानमा अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थामार्फत २ करोड ३० लाख ९१ हजार रुपैयाँ आर्थिक संकलन भइसकेको छ’ फाउन्डेसनका कोषाध्यक्ष नारायण पौडेलले भने, ‘जतिसक्दो चाँडो बनाउने भनेका हौं तर महामारी छ । सामानहरु कहिले आइपुग्छ भन्न सकिन्न ।’

एक दिन भए पनि छिटो प्लान्ट स्थापना गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको भन्दै उनले अक्सिजन प्लान्टका उपकरणहरु फ्रान्सबाट एयर लिफ्ट गरेर ल्याउन लागिएको बताए ।

 

Source: Online Khabar


Blog posts

Comments